यसको कार्यान्वयन पश्चात् निम्नअनुसारका अपेक्षित उपलब्धिहरू हासिल हुने अपेक्षा गरिएको छ। विद्यालयमा हुने शिक्षण–सिकाइ कार्यक्रम उल्लेख्य रूपमा सुधार गर्नेछ, जसले गर्दा सिकाइमा समस्या भएका, अपाङ्गता भएका र श्रवण तथा दृष्टिविहीन बालबालिकाहरूलाई उपयुक्त अनुकूलतासहितको कक्षा व्यवस्थापन र अपाङ्गता तथा बालमैत्री वातावरण कायम हुनेछ। बालबालिका तथा अपाङ्गतासमेतको कक्षाकोठा र विद्यालय वातावरण सुनिश्चित गरिनेछ। विद्यार्थीहरूलाई अंग्रेजी र नेपाली दुबै माध्यमबाट गणित, विज्ञान, कम्प्युटर जस्ता विषय गुणस्तरीय र प्रभावकारी ढंगबाट अध्ययन गर्ने अवसर प्राप्त हुनेछ। विद्यालय शिक्षामा सबै बालबालिकाको सहज रूपमा पहुँच वृद्धि हुनेका साथै सिकाइ उपलब्धि वृद्धि हुने छ। शैक्षिक गुणस्तरमा सुधार आउने र बीचमै कक्षा छोड्ने तथा दोहोर्याउने दरमा कमी आउने अपेक्षा गरिएको छ।
समुदायको विद्यालयप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आई विद्यालय–समुदाय सम्बन्ध थप प्रभावकारी र सुदृढ हुने,
विद्यार्थीहरूकाे शारीरिक, मानसिक तथा सृजनात्मक विकासमा उल्लेख्य मात्रामा उपलब्धि हासिल हुने,
विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलापहरूमा सबै प्रकृतिका विद्यार्थी तथा बालबालिकाकाे सहभागितामा उल्लेख्य वृद्धि हुने।
प्रस्तुत विद्यालय विकास प्रस्तावको सफल कार्यान्वयनमा विद्यालय व्यवस्थापन समिति, काठमाडौं महानगरपालिकाको शिक्षा विभाग, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय वडा कार्यालय, समाजसेवी, शिक्षाप्रेमी तथा बुद्धिजीवी, पूर्व व्यवस्थापन समितिका अग्रज व्यक्तित्वहरू, पूर्व प्रधानाध्यापकज्यूहरू, शिक्षक, विद्यार्थी र विभिन्न संस्थाहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छ। विद्यालय विकास प्रस्ताव तयार गरी प्रस्तुतीकरण गर्ने अवसर प्रदान गरिदिनु हुने शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौं महानगरपालिकाको शिक्षा विभाग, विद्यालय व्यवस्थापन समिति, प्र.अ छानोट समितिका बिद्वज्यूहरू तथा छानोट समितिका पदाधिकारीहरूप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु।